दोलखा। तामाकोसी–बाह्रबिसे ४ सय केभी प्रसारणलाइनको टावरले ओगट्ने जग्गाको ९ करोड मुआब्जा वितरण भएको छ। आयोजनाको दोलखामा पर्ने टावरले ओगट्ने निजी आवादी जग्गाको मुआब्जा वितरण गरेको हो।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले तोकेको मूल्यांकनका आधारमा आयोजनाले मुआब्जा वितरण गरेको हो। आयोजनाको टावर राख्दा २१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ। औषतमा प्रतिरोपनी ७ लाख मूल्यांकन भएको आयोजनाले जनाएको छ। दोलखा जिल्लामा मात्र करिब १५ करोड मुआब्जा वितरण गर्नुपर्नेमा ६० प्रतिशत बढी वितरण भइसकेको बताइएको छ। आयोजनाले एक वर्ष अघि मात्र मुआब्जा वितरण सुरु गरेको हो।
तामाकोसी नदी र आसपासको विद्युत काठमाडौंसम्म पुर्याउन तामकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत २ प्याकेजका काम भइरहेको छ। आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको साँखेदेखि सिन्धुपाल्चोकको बाह्रबिसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ। कम्पनीले करिब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार ९करबाहेक० रुपैयाँमा ठेक्का पाएको आयोजनाले जनाएको छ।
पहिलो प्याकेजको ७१ वटा टावरको जग पूरा भएको छ भने ४१ वटा टावर उठाइसकिएको छ। अब केही दिनमा लाइन तान्ने काम पनि सुरु हुन्छ। पहिलो प्याकेजको ११८ वटा टावरमध्ये दोलखामा ८५ वटा, सिन्धुपाल्चोकमा २७ र रामेछापमा ३ वटा पर्छ। दोलखामा २ वटा टावर गुठीको जग्गामा परेकाले त्यसको निर्णयका लागि क्याबिनेट पठाउने तयारी छ। दोलखा र सिन्धुपाल्चोकमा पर्ने टावरको काम तीव्र गतिमा निर्माणाधिन छ। यसमध्ये दोलखामा १८ वटा र सिन्धुपाल्चोकमा १३ वटा टावर वन क्षेत्रमा पर्छ। वनमा टावर निर्माणका लागि एक हजार र तारमुनी पर्ने रुख ४ हजार काट्नुपर्ने देखिएको छ।