रसुवा। माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। प्रारम्भिक अध्ययन भएको १० वर्षपछि निर्माण शुरु गरिएको माथिल्लो त्रिशुली–१ को कामले गति लिएको हो।
त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो ।
धुञ्चेको पुछार भोटेकोशीमा बाँध बाँधेर ९ दशमलव ७ किमी सुरुङको सहायताले मैलुङ दोभानमा पानी पुर्याई विद्युत् उत्पादन गरिनेछ । ५५ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले दुई महीनादेखि पूर्णरूपमा निर्माण अगाडि बढाएको छ । आर्थिक स्रोत व्यवस्थापन, वातावरण तथा भौगर्भिक अवस्थाको अध्ययन, नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीदविक्रीको सम्झौता, बाह्य संरचनाअन्तर्गत आवास तथा पहुँच मार्गको निर्माणलगायत काम पूरा गरी सुरुङ निर्माण अगाडि बढाइएको छ ।
सदरमुकाम धुञ्चे पुछार भोटेकोशीमा १०९ मिटर लम्बाइ, ३० दशमलव ८ मिटर चौडाइ र २९ दशमलव ५ मिटर उचाइ भएको बाँध, ६ दशमलव ७ मिटर व्यास र ९ दशमलव ७ किलोमिटर लम्बाइको हेडरेस सुरुङ निर्माण हुने आयोजनाका प्राविधिक निर्देशक गिरिराज अधिकारीले बताए । सुरुङ निर्माणअन्तर्गत ९० डिग्री भिरालो आकारमा २९२ मिटर लामो पेनस्टक तथा २४१ मिटरको टेलरेस सुरुङ निर्माण हुनेछ ।
नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको आफ्नो आन्तरिक स्रोतबाट ३० प्रतिशत र ९ विदेशी बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण प्रवाह गर्ने सम्झौता भएको छ ।