गोरखा। बारपाकमा केन्द्रीय प्रसारण लाइन विस्तार भएसँगै २०७७ मंसिर २९ मा पोलमा बल्ब राखेर विद्युत् सेवा उद्घाटन भएको थियो। तर, उद्घाटन भएको करिब डेढ वर्ष बितिसक्दा पनी बिजुली बल्न सकेको छैन।
भूकम्पले क्षतविक्षत भएको अवस्थामा अल्झी रहेका बारपाकका स्थानीय बिजुली बल्ने आशाले खुशि भएका थिए। तर, उद्घाटनको डेढ वर्ष बितिसक्दा पनी बिजुली बाल्न नपाउँदा स्थानीय निरास बनेका छन्।
उज्यालोका लागि स्थानीय अहिल लघु जलविद्युत्को भरमा रहेका छन्। सुक्खा मौसम सुरु भएसँगै लघु जलविद्युत्बाट बिजुली उत्पादन घटेपछि यतिखेर बारपाकमा आन्तरिक लोडसेडिङ सुरु भएको स्थानीयले बताए।
विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रको बेवास्ताले केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न नपाएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। बारपाकका पाँच सय घरले ‘मिटर’ को माग गरे पनि प्राधिकरणले नपठाएको स्थानीयको गुनासो छ।
संघीय सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत ३ करोड खर्चेर बारपाकमा बिजुली विस्तार भएको हो। बाक्लो जनघनत्व भएको बस्ती भएकाले विद्युत् विस्तारपछि रोयल्टी बढ्ने भन्दै प्राधिकरणले बारपाकमा विद्युत् विस्तारलाई प्राथमिकतामा राखेको थियो।
बालुवाबाट राङरुङ, मान्द्रे हुँदै बारपाकमा बिजुली पुर्याउन मुख्य लाइनमा २ सय ५५ वटा पोलको प्रयोग भएको छ। बालुवाबाट करिब १० किलोमिटर तार टाँगेर विद्युतीय लाइन बारपाक पुर्याइएको छ। तर प्राधिकरणका अनुसार बारपाकसम्म बिजुली पुर्याउन बालुवा र राङरुङीचमा टाँगेको तार र करिब ८ वटा पोल गत वर्षायाममा बगाएको छ। बर्खाले बगाएको पोल ९ महिना बित्दासम्म मर्मत भएको छैन।
मिटर वितरण गरेर बारपाकमा बिजुली बाल्ने तयारी भइरहेको प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ।