काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले एकैसाथ २० वटा विद्युतीय गाडी किनेको छ। प्राधिकरणले ‘टाटा नेक्सन ईभी’ का २० वटा गाडी खरिद गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवारीमा हुने खर्च कटौती गर्न र विद्युतीय सवारीको प्रवद्र्धन गर्न अब साइटमा परिचालन हुने बाहेकका प्रयोजनमा विद्युतीय सवारी नै किन्ने बताए। उनले अब पेट्रोल गाडीहरु आयोजना र मर्मत सम्भारको काममा साइटहरुमा जान–आउन मात्रै प्रयोग गर्ने नीतिका साथ अघि बढ्न लागिएको समेत जानकारी दिए।
‘अब विद्युतीय सवारी नै हाम्रो भविष्य हो, त्यसैले अब काठमाडौं, पोखरा, विराटनगर जस्ता शहरमा कार्यरत कर्मचारीलाई विद्युतीय सवारीकै सुविधा दिन्छौं,’ उनले भने,‘साइटमा जानेबाहेकका सवारी विद्युतीय नै किन्ने योजना हो । प्राधिकरणले नै विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहित गर्नुपर्छ भनेर यस्तो गर्न लागेका हौं ।’
विद्युतीय सवारीले विद्युत् खपत बढाउने, शहर सफा र स्वच्छ राख्ने तथा रातिको समयमा सस्तो बिजुलीको उपयोग गर्ने भएकाले प्रवद्र्धनको नीति लिइएको घिसिङको भनाइ छ ।