जाजरकोट। जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाको प्रमुखमा निर्माण व्यवसायी रत्न खड्काले उमेदवारी दिएका छन् । व्यवसायी खड्कालाई नेपाली कांग्रेसले सर्वसम्मत निर्णय गरेर मेयर पदका लागि उमेदवार बनाएको हो।
कांग्रेसबाट मेयर पदका लागि सात जना आकांक्षी रहेपनि सर्वसम्मत रुपमा खड्कालाई उठाउने निर्णय भएको कांग्रेस छेडागाड नगर कमिटिले जनाएको छ।निर्माण व्यवसायी महासंघकाे कर्णाली प्रदेश तर्फबाट निर्वराेध निर्वाचित उपाध्यक्ष समेत रहेका खड्का यस अघिको स्थानीय तहको निर्वाचनमा पनि उमेदवार थिए। अघिल्लो निर्वाचनमा उनी थोरै मतान्तरले पराजित भएका थिए।
खड्काले हालसम्म औपचारिक रुपमा कुनै एजेन्डा तय गरेको नभएपनि आफ्नो नगरपालिकालाई व्यवस्थित बनाउन सबै प्रयास गर्ने योजना रहेको बताएका छन्। हालसम्म नगरपालिकाको आफ्नो भवन समेत नभएकाले उनले नगरपालिका र १३ वटै वडाको आफ्नौ कार्यालय भवन निर्माण गर्ने बताए। उनले आफ्नो पहिलो प्राथमिकतामा भने कच्ची सडकहरुलाई कालोपत्रे गर्ने रहेको बताएका छन्।
नगरवासीलाई स्वच्छ पिउने पानी, सर्वसुलभ स्वास्थ्य , शिक्षा, विजुली बत्ती एव युवा रोजगारमा आफ्नो महत्वपूर्ण योगदान रहने उनको दाबी छ।