काठमाडौं। रूपन्देहीको बुटवलमा विद्युतीय चुल्होसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गरेको विद्युतीय चुल्होसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
संस्थाले नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा संस्थामा आबद्व सदस्यहरूलाई विद्युतीय चुल्होको प्रयोगका फाइदा, प्रयोग विधि लगायत विषयमा तालीम दिएको हो ।
वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता र बेलायती राजदूतावास काठमाडौंका उपविकास निर्देशक हेडी टाभकोलीको प्रमुख आतित्थ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि टाभकोलीले भान्छामा बढी समय बिताउने गृहिणी महिलाको स्वास्थ्यका लागि विद्युतीय चुल्हो महत्त्वपूर्ण रहने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष डा. मानबहादुर बीके, बेलायती राजदूतावास काठमाडौंका रेसा पिया, कवीन्द्र सुब्बा, नवीकरणीय ऊर्जा कार्यक्रमका अच्युतहरि अर्याल लगायतको सहभागिता थियो ।
बेलायती राजदूतावास काठमाडौं, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम र जनउत्थानको व्यवस्थापन समूहबीच परियोजनाका बारेमा छलफल भएको थियो ।