पर्वत। मोदी खोलामा निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। पावर हाउस निर्माण, पेनस्टक पाइप जडानको काम अन्तिम चरणमा पुगेको हो।
उक्त आयोजना करिब तीन अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको छ। सो आयोजनाको काम २०७१ सालको मंसिरमा सुरु गरिएको थियो। निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि लक्ष्यभन्दा चार वर्षपछाडि धकेलिएको हो।
पावर हाउसदेखि मोदी–लेखनाथ सबस्टेसनसम्म विद्युत लैजान चाहिने आठमध्ये पाँचवटा टावर निर्माण सम्पन्न भइसकेका छन्। बाँकी तीनवटा टावर सामुदायिक वनमा पर्ने भएकाले रुख कटान गरी टावर निर्माणका लागि गरिएको प्रस्ताव वन मन्त्रालयबाट विभाग हुँदै संसदमा पुगेकाले त्यहाँबाट निर्णय हुँनसाथ काम सुरु गर्ने आयोजनाले बताएको छ।
पावर हाउस निर्माण र पेनस्टक (पानी पठाउने) पाइप जडानको काम पनि अन्तिम चरणमा पुगेकाले करिब तीन महिनाभित्रमा आयोजनाले उत्पादन दिन सक्ने आयोजनाले जनाएको छ। आयोजनामा अहिले पनि झन्डै ९५ जना कामदारले एकै पटकमा काम गरिरहेका छन्।
दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजना निर्माण चौधरी ग्रुपले गरेको हो। २०७१ सालमा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए। तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मंसिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटक पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको थियो। तर, पछिल्लो आठ महिनायता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको हो।