संखुवासभा। संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ। भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाट जलविद्युत क्षमताको अरुण तेस्रोको काम ५५ प्रतिशत सम्पन्न भएको हो।
पछिल्लो समय आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको लगानी बोर्डका उपप्रवक्ता रमेश अधिकारीले बताए। सो आयोजनाको काम एसजेभीएन अरुण तेस्रो पावर कम्पनी (एसएपीडीसी) गर्दै आएको छ।
उपप्रवक्ता अधिकारीका अनुसार प्रसारण लाइनको काम १२ प्रतिशत भन्दा बढी र जेनेरेसन कम्पोनेन्ट कन्स्ट्रक्सनको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ। सो परियोजनाको कुल लागत एक खर्ब ४४ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
सन् २०२३ भित्र उक्त जलविद्युत आयोजनाको काम सक्ने निर्माण कम्पनीको योजना छ। कोभिड महामारीका कारण आयोजनाको सम्पन्न हुने तालिका केहीपछि धकेलिने सम्भावना छ। यद्यपि, आयोजना निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीले राखेको छ।
अरुण तेस्रो नेपालमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो। उक्त जलविद्युत आयोजनाको उद्घाटन २०७५ साल वैशाखमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गरेका थिए । आयोजना निर्माणको कार्य ५ वर्षमा सक्ने भनिएको थियो ।