खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ स्थित धिप्लुङ झरना पर्यटकीय विकास आयोजनाको ठेक्का रद्द गरिएको छ। ठेक्कामा सेटिङ भएपछि सर्वोच्च अदालतले ठेक्का खारेज गरेको हो।
आयोजनाको काम गर्न एउटै मात्र निर्माण कम्पनीलाई ठेक्का पारिएको र त्यसमा संलग्न अर्को कम्पनीलाई पनि समावेश गराएर प्रक्रिया बढाउन सार्वजनिक खरिद अनुगमन कार्यालयको आदेशलाई सदर गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र बमकुमार श्रेष्ठको मंगलबारको इजलासले उक्त निर्णय गरेको हो । उक्त आयोजनाका लागि स्काई सगरमाथा जेबी कम्पनी र आशीर्वाद पीआर जेबीले ठेक्का हालेका थिए । तीमध्ये स्काई सगरमाथा जेबीलाई फालेर आशीर्वाद पीआर जेबीलाई फुल रेटमा पारेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको थियो । उक्त कार्यालयले २०७८ साउन ५ मा दुवै कम्पनीलाई प्रक्रियामा समावेश गर्न निर्देशन गरेको थियो ।
करिब ५ करोड ६ लाख रुपैयाँको लगत इस्टिमेटमा ३ करोड ३४ लाख ८० हजार ४ सय ३९ रुपैयाँको आर्थिक प्रस्ताव पेस गर्ने निर्माण कम्पनीलाई प्राविधिक कारण देखाउँदै ठेक्का प्रक्रियाबाट आउट गरेर ५ करोड १ लाख ४७ हजार ६ सय २५ रुपैयाँको आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का पारिएपछि गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायतमा उजुरी गरिएको थियो।
अनुगमन कार्यालयको उक्त निर्णयविरुद्ध आशीर्वाद पीआर जेबीले २०७८ साउन २४ मा सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो। उक्त रिटपछि साउन २९ मा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी कम आर्थिक प्रस्ताव पेस गर्नेलाई सम्झौता नगराउनु भनिएपछि उक्त ठेक्का प्रक्रिया रोकिएको थियो । स्रोत: कान्तिपुरबाट