बाँके। निर्माण व्यवसायी संघ बाँकेले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ। निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिको विरोध गर्दै संघले जिल्लाभारका निर्माण कार्य रोकेको हो।
ठेक्का सम्झौता हुँदाको समयमा भन्दा अहिले निर्माण सामाग्रीको मूल्य अत्याधिक भएकाले व्यवसायी घाटामा जान थालेको र बाध्य भएर निर्माण होलिडे गर्नुपरेको संघले जनाएको छ। निर्माण होलिडेको घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब ७ अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको छ।
बाँके निर्माण व्यवसायी संघका अध्यक्ष टेकबहादुर खड्काले काम गर्न सक्ने अवस्था नै नभएपछि बाध्य भएर रोक्नु परेको बताए। खड्काले जिल्ला तहमा क्रियाशिल साना व्यवसायीहरु मूल्यवृद्धि वापतको रकम प्राप्त गर्न नसक्ने र अत्यधिक मूल्य वृद्धिका कारण निर्माण कार्यलाई सुचारु गर्न नसकिने अवस्थामा पुगेको बताए। सरकारले आफ्ना माग पूरा नगर्दासम्म संघमा आवद्ध निर्माण व्यवसायीले आफ्ना सम्पूर्ण काम स्थगित गरी ‘निर्माण होलिडे’ गर्ने निर्णय पारित गरिएको उनले जनाए।
सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४ प्रतिशत मूल्यवृद्धि भएको व्यवसायीले जनाएका छन् । निर्माण होलिडे आफूहरुका लागि अन्तिम विकल्प भएको व्यवसायीहरुको भनाइ छ।
व्यवसायीले कामका लागि कच्चा पदार्थसमेत नपाइएको र पछिल्लो भुक्तानी समेत नपाइएको गुनासो गरेका छन्। संघले निर्माण सामग्रीको जिल्लामा तोकिएको दररेट समायोजन गर्न, मूल्यवृद्धिलाई राहत हुने गरी निर्देशिका ल्याउन, निर्माण पूरा हुने म्याद थप गर्न माग गरेको छ।