काठमाडौं। बाँकेमा आठ वर्षभित्र सम्पन्न गरिसक्नु पर्ने सिस्टा सिँचाइ आयोजना डेढ दशकमासम्म सम्पन्न भएको छैन। सो आयोजनाको हालसम्मको भौतिक प्रगति ६९ प्रतिशत रहेको छ।
२०६३ साल माघ ३ गते राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित मूल ब्यारेजको शिलान्यास हुँदा बाँकेबासीमा खुसीको सीमा थिएन। आकासे पानीको भरमा खेती गर्दै आएका किसानले खेत–खेतसम्म सिँचाइ पुग्ने भन्दै यहाँको माटोमा अन्न होइन सुन नै फलाउने सपना देखेका थिए। अहिले सपना सपनामै सिमित भएको भन्दै उनिहरु निरास भएका छन्।
बाँकेको कुल ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पु(याउने लक्ष्यका साथ सुरु भएको आयोजना अन्तर्गत हालसम्म १८ अर्ब २१ करोड खर्च भएको आयोजनाले जनाएको छ। प्रारम्भिक गुरुयोजना अनुसार १२ अर्ब ८० करोड लागत अनुमान रहेकोमा आर्थिक वर्ष २०७१।०७२ मा गुरुयोजना संशोधन गरी २५ अर्ब दुई करोड लागतमा २०७८।०७९ भित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको थियो। तर लक्ष्यअनुसार काम सम्पन्न हुन नसकेपछि आयोजनाको लागत बढाएर खरिद गुरु योजना अध्यावधिक गरी अवधि बढाउने तयारी थालिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ।
उक्त आयोजनाअन्तर्गत पश्चिम मूल नहरको काम सकिएको छ भने पूर्वी मूल नहरको राजकुलोदेखि गंगापुरसम्म करिब ३८ किलोमिटर मूल नहर निर्माणाधीन अवस्थामा रहेको बताइएको छ। पश्चिम मूल नहरमा घुलनसिल माटोका कारण पानी सञ्चालन गर्ने क्रममा नहर भत्किएपछि हालसम्म पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। त्यस्तै पूर्वी मूल नहरमा पनि चार किलोटिरसम्म डिप कटिङ गर्नुपर्ने चुनौतीका कारण ढिलाइ भइरहेको आयोजनाले जनाएको छ।
आयोजनामा जग्गा मुआब्जासम्बन्धी विवाद, समय समयमा आयोजना प्रमुख फेरबदल, विभिन्न मुद्दामामिला, जनशक्ति अभाव, घुलनसील माटोजस्ता कारणले आयोजनाले गति लिन नसकेको राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ बाँकेजनाएको छ।