काठमाडौं। जुम्लाको चन्दननाथ नगरपालिका– २ र ५ कालेखोली क्षेत्रका बासिन्दाले पोल गाड्न नदिएपछि विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले बिजुलीको लाइन काटेको छ। समन्वयमा पोल गाड्न खोजिए पनि स्थानीयवासीले नदिएकाले केन्द्रले लाइन नै काटिदिएको हो।
एयरपोर्ट लोड सेन्टरबाट कालेखोली क्षेत्रमा सय केभिएको विद्युत् आपूर्ति गरिए पनि पछिल्लो समय लोड धान्न नसकिएको केन्द्रले बताएको छ।
लोड व्यवस्थापनका लागि कालेखोली क्षेत्रमा ट्रान्सफर्मर राख्न दुई महिनादेखि प्रयास गर्दा पनि विवाद भएपछि बिजुलीको लाइन काटिएको र विवाद समाधान नहुञ्जेल कालेखोली क्षेत्रको बिजुली बन्द गरिएको छ।
लाइन काटिएको विषयमा स्थानीय प्रहरी प्रशासन र नगरपालिकालाई पनि जानकारी गराइएको जनाइएको छ।चन्दननाथ नगरपालिकाले स्थानीयवासीसँग समन्वय गरी पोल गाड्न दिने वातावरण सिर्जना गरिएको जनाएको छ।
ट्रान्सफर्मर २४ नम्बर बाहिनी नजिक राख्ने कुरा बुझिएको छ। अर्के ट्रान्सफर्मर कालेखोली नजिक सार्वजनिक शौचालयको छेउछाउमा राख्न जग्गा व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो।