काठमाडौं। रोल्वालिङ खोला जलविद्युत आयोजनाको काम आगामी हिउँदबाट शुरु गरिने भएको छ। माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले रोल्वालिङ खोला जलविद्युत आयोजनाको काम हिउँदबाट शुरु गर्ने भएको हो।
पूर्व तयारीको काम सकेर आगामी वर्षबाट मुख्य संरचनाको निर्माणमै जाने तयारी छ। अहिले परीक्षण टनेल खन्ने काम भइरहेको छ भने आयोजनास्थलसम्म पुग्नका लागि पहुचमार्ग निर्माणको काम समेत भएको छ। हाइ हिमालयन हाइड्रोले पूर्व तयारीको काम गरिहेको छ।
आयोजनाले मुख्य निर्माणको कामका लागि पनि ठेक्का निकालिसकेको छ। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का निकालेको हो। यस्तो मोडलमा ठेक्का निकाल्दा निर्माण कम्पनी बढी जिम्मेवार हुनुपर्छ। कम्पनीले रोल्वालिङको मुख्य सुरुङमार्ग निर्माणसहितको ठेक्का जेठ २७ गते निकालेको थियो।
उक्त ठेक्कामा आवेदन दिएर सर्ट लिस्टमा परेका दुई कम्पनीको मूल्यांकन भइरहेको छ।
विद्युत विकास विभागले २०७४ भदौमा रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणको लाइसेन्स तामाकोसी हाइड्रोपावर कम्पनीलाई दिएको थियो। त्यसपछि कम्पनीले आयोजना अघि बढाउन गृहकार्य सुरु गरेको हो तर तामाकोसी नै पुरा गर्न ढिलाइ भएका कारण कम्पनीको मुख्य फोकस त्यसैमा थियो। अहिले तामाकोसी पूर्ण रुपमा संचालनमा आएसंगै आयोजना रोल्वालिङको काम सुरु गर्न तातेको हो।
रोल्वालिङ जलविद्युत आयोजनाबाट विद्युत निकालेपछि टेलरेस हुदै पानी तामाकोसीको लामाबगरस्थित जलाशयमा खसालिनेछ। जसले तामाकोसीको क्षमता बढाउनेछ।
आयोजनाका लागि करिब साढे ६ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ। जसका लागि ब्याजबाहेक करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माण सुरु गरेको करिब साढे चार वर्षमा बत्ती बाल्ने योजना छ।