काठमाडौं। नेपालको पहिलो टायल उद्योग ‘नेपोभिट’का प्रडक्ट अनावरण गरिएको छ। चलचित्र जगतका महानायक राजेश हमालले बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा नेपालको पहिलो टायल उद्योग ‘नेपोभिट’का प्रडक्ट अनावरण गरेका हुन्।
कम्पनीका अध्यक्ष शम्भुनाथ झाले नेपाली माटो, ढुंगा र बालुवालाई सुन बनाउने योजना अनुसार नै कम्पनीको नाम नेपोभिट राखेको बताए। कम्पनीको नाम नेपोभिटको अर्थ नेपो अर्थात् नेपाल र भिट अर्थात् इटलियन भाषामा सुन हुन्छ।
कार्यक्रममा राजेश हमालले कम्पनीका उत्पादनको प्रशंसा गरेका छन्। उनले आफैँले फ्याक्ट्री भिजिट गरेको र त्यहाँ प्रयोग भएको इटलियन प्रविधिबाट उत्पादित टायल बन्ने प्रक्रिया नजिकबाट नियालेको बताएका छन्। हमालले स्वदेशी माटोलाई सुन बनाउने उद्देश्यबाट आफू प्रभावित भएको समेत बताए।
कम्पनीका संचालक झाले ५ वर्षको अथक प्रयासपछि बाराको जितपुरमा उद्योग स्थापना गरेका छन् । इटालीबाट उच्चस्तरीय र आधुनिक प्रविधि ल्याए र २ महिनाअघि टायल उत्पादन शुरु गरेका हुन्।
कम्पनीका अध्यक्ष झा र उनको टिमले सकेसम्म टायललाई स्वदेशी रुप दिन प्रयास गरिरहेका छन्। झा र उनको टीमले डिजाइनदेखि नामसम्म नेपालको पहिचान झल्कियोस् भन्नेमा विशेष ध्यान दिएका छन् । टायलका प्रडक्टका नाम फेवा, डाँफे र गुँरास राखेका छन् ।
कम्पनीमा दैनिक १० हजार टन माटो, बालुवा र ढुंगा खपत हुन्छ । जसबाट दैनिक ३० हजार स्वायरफिट टायल तयार भइरहेका छन् । ती टायलहरु घरेलु तथा व्यवसायिक भवनका लागि योग्य छन् ।