काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा विद्युत लाइन काटिएको छ। कार्यालयले महशुल नबुझाएपछि विद्युत लाइन काटिएको हो।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १ लाख ६० हजार विद्युत बक्यौता उपमहानगरपालिकाले नतिरेको भन्दै कार्यालयमा जडान गरिएको विद्युत लाइन काटेको जनाएको छ। विद्युत महशुल बुझाउन पटक–पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि मंगलबार विहान उपमहानगरको कार्यालयको विद्यतु लाइन काटिएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ।
सडक बत्ती र कार्यालयको गरी विद्युत बक्यौता रकम करीब एक करोड पुग्दा पनि उपमहानगरले विद्युत महशुल बुझाउन कुनै चासो नदेखाएपछि विद्युत लाइन काट्नुपरेको वितरण केन्द्रको नाइ छ। विद्युत महशुल रकम बुझाउन पटक–पटक पत्राचार गर्दा पनि उपमहानगरले कुनै प्रतिकृया नजनाएकाले बाध्य भएर विद्युत लाइन काट्नुपरेको हो।
उपमहानगरपालिकाले कार्यालयको जरीवाना सहित एकलाख ६० हजार बक्यौता छ। जुन ४ महिना देखिको बाकी भएको बताइएको छ। केहि समय पहिले सरकारी हिसाव मिलान हुँदा विद्युत रकम बुझ्न बुझाउन सजिलो भए पनि अहिले पुनः प्राधिकरणलाई सरकारी निकायहरुबाट विद्युत महशुल उठाउन गाह्रो भएको छ।
तुलसीपुर उपमहानगरपालिकाले भने नियमित रुपमा विद्युत महशुल र्तिदै आएको बताएको छ। जनप्रतिनिधि नभएको मौका पारेर कर्मचारीलाई सास्ती दिने उदेश्यले नियतबस विद्युत लाइन काटिएको उपमहानगरपालिकाले जनाएको छ।