दार्चुला। महाकाली करिडोरअन्तर्गतको काठेधार–टिंकर सडक आयोजनाका लागि हेलिकोप्टरमार्फत निर्माण सम्बन्धी हेभी इक्विपमेन्ट ढुवानी गर्न शुरु भएको छ।
नेपाली सेनाले निर्माण गरिरहेको कोठेधार–टिंकर सडक निर्माणका लागि सेनाको एमआई १७ हेलिकोप्टरबाट सडक निर्माणमा प्रयोग हुने हेभी इक्विपमेन्ट ढुवानी गर्न थालिएको हो।
व्यास गाउँपालिका–४ सुन्सेरासम्म स्थलमार्ग प्रयोग गरी एस्काभेटरलगायत मेसिन ढुवानी गरिएको थियो। त्यसभन्दा माथिल्लो क्षेत्रमा पनि सेनाले सडक निर्माणको काम थालेकाले पहुँच मार्ग नहुँदा हेलिकोप्टरबाट यी मेसिन ढुवानी गर्नुपरेको सेनाले जनाएको छ। सेनाको विकास निर्माण निर्देशनालयले व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा र व्यास गाउँपालिका–२ दुम्लिङमा क्याम्प राखेर सडकको ट्र्याक खोलिरहेको छ। व्यास गाउँपालिका–२ स्थित चार ठाउँ र वडा नम्बर ३ को तोसरपानीमा सडकको ट्रयाक खोल्ने काम भइरहेको बताइएको छ।
हेलिकोप्टरले दुम्लिङ, कोठेधारलगायत ठाउँमा मेसिन ओसारिरहेको छ। हेलिकोप्टरले दुई वटा एक्स्काभेटर दुम्लिङ र मालगाउँमा ओसार्दै छ। एक्स्काभेटरका पार्ट्स अगलअलग गरेर ढुवानी भइरहेको छ। मेसिन लैजान सडक नभएपछि हेलिकोप्टरले सडक निर्माणमा प्रयोग हुने मेसिन एक्स्काभेटर, व्याकहोलोडर, कम्प्रेसरका पार्ट्स ओसारिरहेको हो।
सरकारले दार्चुला–टिंकर सडकअन्तर्गत व्यास गाउँपालिका–२ कोठेधारदेखि टिंकर नाकासम्मको ७४ किमि सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।सेनाले अहिले ५ ठाउँबाट सडक निर्माणको काम गरिरहेको कोठेधार टिंकर सडक आयोजनाले जनाएको छ। कोठेधारदेखि माथि माल, फुलचिम, तल्लो दुम्लिङ लगायत ठाउँमा सडक निर्माणको काम चालु छ।