काठमाण्डौं। उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अगाडि बढेको छ। आयोजनाको अधिकांश संरचना निर्माण भएपश्चात् उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको हो।
राष्ट्रिय गौरवको जलविद्युत् आयोजना छिटो सम्पन्न गराउन कार्यरत प्राविधिक अहोरत्र खटिएका छन्। भूमिगत संरचनाबाट निर्माण भइरहेको रसुवागढी आयोजनाको विद्युत्गृहमा जडान हुने तीन टर्वाइन लगायत आवश्यक उपकरण जडानमा भोइथ इण्डिया संलग्न रहेको छ। गत पुसदेखि उक्त कम्पनीले उपकरण जडान थालेको हो।
एक सय ११ मेगावाट क्षमताको आयोजनाका उपकरण जडान गर्न जिम्मा लिउको भोइथले दैनिक ४६ प्राविधिक परिचालन गरेको छ। दैनिक १२ घण्टा काम हुने गरेको छ। उपकरण जडानको ४० प्रतिशत पूरा भइसकेको छ।
उपकरण जडान सम्पन्न गर्न अझै एक वर्ष लाग्ने रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ। विद्युत्गृह जाने भोटेकोसीस्थित तातोपानीमा पक्की पुलसमेत निर्माण गरी कटान रोक्ने काम अगाडि बढेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वातावरणीय प्रभाव मूल्याङ्कनले तोकेका समुदायमा आधारित कार्यसमेत सु–सम्पन्न गरिसकेको छ।