लमजुङ। क्व्होलासोंथार गाउँपालिका-५ मा रहेको रुदीखोला जलविद्युत् आयोजनाका सामाग्री चोरी गर्ने ७ जना पक्राउ परेका छन्। लमजुङ प्रहरीले जलविद्युत् आयोजना क्षेत्रबाट हेडरेस पाइपहरू चोरी गर्ने सात जनाको समूहलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा रत्नचोक बस्ने वर्ष ३३ का नरेशकुमार साह, भारत घर भई पोखरा बस्ने वर्ष २२ का रूपेश साह, तनहुँको म्याग्दी नगरपालिका ४ बस्ने वर्ष ३३ का तारा गुरुङ, धादिङ सिद्धलेख गाउँपालिका– ५ बस्ने वर्ष ४८ का मनोज भन्ने मंगले घले, तनहुँ भिमाद नगरपालिका– २ बस्ने वर्ष ३० का मनोज थापा र म्याग्दी रघुगंगा गाउँपालिका– ५ बस्ने वर्ष २४ को मनीष पुर्जासहित सातजना छन् ।
आयोजनाकै सवारीचालक वर्ष ४६ का आकाश भन्ने दिलबहादुर घर्तीको संलग्नतामा चोरी भएको अनुसन्धानबाट खुल्न आएकाले प्रहरीले जनाएको छ। दिलबहादुर घर्तीसहित सोही घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा बस्ने वर्ष ५० का पन्नालाल साहलाई बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
भारत घर भई हाल पोखरा रत्नचोकमा रहेको कवाडीमा काम गर्ने नरेशकुमार साहले आयोजनाका फलामको पाइपहरू काट्न पोखराबाटै ट्रकसहित पाइप काट्ने उपकरण ल्याएका थिए ।
उनीहरूलाई आयोजनमा फलामको पाइपहरू ग्यास कटिङले काट्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।