बैतडी। बैतडीका विभिन्न स्थानमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ। पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो।
विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ । विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न समस्या भएको स्थानीय बताउँछन्।
ड्रप आउट फ्युजको अभावमा समस्या पत्ता लगाउन नसकेको विद्युतका कर्मचारी बताउँछन्। विद्युत सेवा अवरुद्ध हुँदा सञ्चारका माध्यमसमेत प्रभावित भएका छन् । शुक्रबार आएको हावाहुरीसँगै विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सुचारु गर्न कर्मचारी खटाए पनि सबै ठाउँमा विद्युत सुचारु हुन सकेको छैन ।
वर्षा र हावाहुरीका कारण जिल्लाभरी अवरुद्ध भएको विद्युत सदरमुकाम र आसपासका क्षेत्रमा भने आइतबार सुचारु भएको छ ।