काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिकाले कोसेली घर निर्माण गरेको छ। नगरपालिकाले स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा सहज हुने भन्दै कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याएको हो।
नगरभित्र उत्पादित स्थानीय वस्तुहरुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नगर परिसरमै कोसेली घर निर्माण गरीएको हो। वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको नगरपालिकाले जनाएको छ।
स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गरी निर्माण गरिएका तानका कपडा, स्वीटर, गरगहना, उपहार, अन्य हस्तकलाका सामग्रीहरु कोसेली घरमा राखेको बताइएको छ।
सामूहिक वा ब्यक्तिगत रुपमा उत्पादन भएका सामग्रीहरुको प्रचारप्रसार र बजारीकरणमा ध्यान दिन नगरपालिकाले कोसेली घर निर्माण गरेको हो। विशेषगरी कोसेली घरका माध्यामबाट नगरपालिकाभित्र उत्पादन हुने सामग्री, र उपभोग गर्ने उपभोक्ताबीच समन्वयकारी भूमिका निर्वाह गर्न सकिने विश्वास लिएको नगरपालिकाले जनाएको छ।