काठमाडौं। निर्वाचन आयोगले इन्टरनेट सेवा अवरुद्ध हुन नदिने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ।
इन्टरनेट सेवा प्रदायक संघ, नेपालले आगामी सातादेखि इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको भन्दै इन्टरनेट अवरुद्ध हुन नदिन निर्देशन दिएको हो।
आयोगले इन्टरनेट सेवा अवरोध भएमा नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुग्ने बताएको छ। निर्वाचनको समयमा इन्टरनेट सेवामा अवरोध भए निर्वाचनको व्यवस्थापनमा असर पर्ने भन्दै आयोगले त्यस्तो परिस्थिति सिर्जना हुन नदिन निर्देशन दिएको छ।
आयोगले विज्ञप्तिमा भनेको छ, ‘विद्यमान सूचना र प्रविधिको युगमा इन्टरनेटको सहज र निरन्तर पहुँच प्राप्त गर्नु नागरिकको आधारभूत आवश्यकता समेत भइसकेको विदितै छ। इन्टरनेट सेवा अवरोध भएमा संविधानले प्रत्याभूत गरेको नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति बाधा पुग्नेतर्फ सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ।
मुलुकभर सबै स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भएकाले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोग निर्देशन दिन्छ।’
महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु नतिरेको भन्दै संचार मन्त्रालयले सेवा प्रदायकहरुलाई अमेरिकी डलर भुक्तानीको सिफारिस नदिँदा देशभर इन्टरनेट काटिने संघारमा पुगेको हो।