काठमाडौं। बुटवल पावर कम्पनीले चिनो खेला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले ७.९ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको हो।
उक्त आयोजना मनाङको नासो गाउँपालिका(साबिकको ताचै बगरछाप गाविस)मा अवस्थित चिनो खोलामा निर्माण हुनेछ।
विद्युत विकास विभागले मंगलबार सूचना निकालेर बुटवल पावर कम्पनीले विद्युत उत्पादन गर्न अनमतिपत्रका लागि दरखास्त दिएकाले आयोजना निर्माण र संचालन गर्दा उल्लेखित प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र लिखित राय।सुझाव दिन आग्रह गरेको छ।
सो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको हुनेछ। यसको डिजाइन बहाव १.०७ घनमिटर प्रतिसेकेण्ड र समग्रगत हेड (ग्रस हेड) ९०२ मिटर रहनेछ। आयोजनाबाट वार्षिक सरदर ४३.९९ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ।
उत्पादित ऊर्जालाई विद्युत गृहको ३३ किलोभोल्ट स्वीचयार्डमा जडान हुने ९.२६ एमभीए,५० हर्जको पावर ट्रान्सफर्मरमार्फत करिब ३ किलोमिटर लामो ३३ केभी डबल सर्किट प्रसारणलाइनमार्फत नासो गाउँपालिका घेलाञ्चोकमा प्रस्तावित २२० केभीको मनाङ हब सवस्टेशनमा जोडिनेछ।