काठमाडौं। स्थानीय निर्वाचनको चहलपहल बढ्न थालेसँगै पेट्रोलियम पदार्थको माग बढेको छ। पछिल्लो १५ दिनमा करिब १० प्रतिशत माग बढेको नेपाल निगम आयोगले बताएको छ।
स्थानीय तहमा चुनावी चहलपहल र रजनीतिक दलका प्रचारप्रसार तीव्र हुँदा डिजेल र पेट्रोलको माग बढेको हो। नेपाल आयल निगमका अनुसार हाल पेट्रोल दैनिक दुई हजार किलोलिटर बिक्री वितरण भईरहेको छ भने डिजेल दैनिक पाँच हजार किलोलिटर माग छ। एलपी ग्यास दैनिक एक लाख १० हजार सिलिन्डरको माग छ। यसअघि एलपी ग्यास दैनिक एक लाख सिलिन्डरको माग थियो।
माग अझै बढ्न सक्ने निगमको अनुमान छ। माग बढे पनि आपूर्ति सहज रहेको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए। पर्याप्त भण्डारण रहेकाले माग जति बढे पनि आपूर्तिमा समस्या नहुने उनको भनाइ छ।
हाल निगमले ६८ हजार ३७९ किलोमिटर पूर्ण भण्डारण क्षमतामा ७७ प्रतिशत भण्डारण गरेको छ। ११ हजार ३०३ किलोलिटर पेट्रोल भण्डारण क्षमतामा ८१ प्रतिशत भण्डारण रहेको छ। ४४ हजार ८४९ किलोलिटर भण्डारण क्षमतामा ८२ प्रतिशत डिजेल मौज्जाद रहेका निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए। आठ हजार १५३ किलोलिटर भण्डारण क्षमता रहेको हवाई इन्धनमा ८९ प्रतिशत भण्डारण भएको छ। मट्टितेल ३८ प्रतिशत भण्डारण छ।
वैशाख १८ गते इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य सूचिमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको छैन। १५।१५ दिनमा मूल्य समायोजन गर्दै आएको निगमले पछिल्लो दुई पटक समायोजना गरेन। निर्वाचनको समय भएकाले घाटा भएपनि पछिल्लो समय मूल्य समायोजन नगरिने प्रवक्ता उपाध्यायको भनाइ छ।
निगमका अनुसार नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर पाँच रुपियाँ १८ पैसा, डिजेल १० रुपिँया १८ पैसा र हवाइ इन्धन सात रुपैँया १२ पैसाले बढेर आएको थियो। एलपी ग्यासमा प्रतिसिलिन्डर ११८ रुपियाँ बढेर आए पनि समायोजन भएको छैन। पेट्रोलियम पदार्थबाट हाल निगमलाई १५ दिनमा करिब पाँच अर्ब १९ करोड रुपियाँ घाटा छ। आजको गोर्खापत्र दैनिकबाट