काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन देशभर यातायात सेवा बन्द हुने भएको छ। निर्वाचनका दिन पर्यटकहरुका लागि भने यातायात सेवा उपलब्ध गराइने भएको छ।
पर्यटकका लागि नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले पास वितरण गर्ने भएका छन् ।
यो दिन नेपाल आउने पर्यटक रहेको कम्पनीले आफ्ना पाहुनाको सेवाका लागि विमानस्थलबाट होटेलसम्म र नेपालबाट विदेश र्फकन लागेका पाहुनालाई होटेलबाट विमानस्थलसम्म लैजान यातायात सेवा लिन पाइने छ । सोही अनुसार पास वितरण हुने भएको हो ।
यसबाहेक त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रयोजनमा भन्सार विभागको सिफारिसमा प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट पास जारी हुने छ ।
विमानस्थल अध्यागमन कार्यालयको प्रयोजनका लागि अध्यागमन विभागको सिफारिसमा पास लिन सकिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा उडानसँग सम्बन्धित कार्यालयहरुले पास लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
यो दिन अन्तर्राष्ट्रिय उडानका माध्यमबाट यात्रा गर्ने यात्रुको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन विमानस्थलसम्म र त्रिभुवन विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमन सहजिकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मिलाउने भएका छन् । यो दिन आन्तरिक उडानका जहाज भने बन्द हुने छन् ।