काठमाडौं। नेपाल आयल निगमले आउँदै गरेको स्थानीय निर्वाचनका लागि पेट्रोलियम पदार्थ मौज्दात राख्न थालेको छ। आगामी वैशाख ३० गते हुने निर्वाचन अवधिका लागि पेट्रालियम पदार्थको अभाव हुन नदिन निगमले सबै डिपोहरुमा पेट्रोलियम पदार्थ मौज्दात राख्न थालेको हो।
निगमले निर्वाचनमा पेट्रोलियम पदार्थको खपत बढ्ने भन्दै सबै डिपोहरुमा स्टक गर्न लागेको जनाएको छ। हाल पेट्रोलियम पदार्थ दैनिक आयात भइरहेको छ। रक्सौल–अमलेखगन्ज पाइपलाइनबाट पनि आइरहेको छ।
चुनावको समयमा धेरै सवारीसाधन प्रयोग हुन्छ। त्यति बेला इन्धनको अभाव भयो भने झन समस्या हुन सक्छ। यसले गर्दा पूर्व तयारी सुरु गरेको बताइएको छ। अहिले निगमसँग अहिले ७६ प्रतिशत पेट्रोलियम पदार्थको स्टक रहेको बताइएको छ। निगमले पाइपलाइनमा रहेका बुलेटहरुसहित निगमको स्टक शतप्रतिशत हुने जनाएको छ।
हाल निगमसँग ६ हजार ४ सय ५२ किलोलिटर पेट्रोल स्टकमा छ भने ३७ हजार २ सय किलोलिटर डिजल र १५ सय ५२ किलोलिटर मट्टितेल छ। अहिले दैनिक २ हजार किलोलिटर पेट्रोल र ५ हजार किलोलिटर डिजेलको खपत भइरहेको निगमले जनाएको छ।