काठमाडौं। लमजुङको न्यादी खोलामा निर्माण भएको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाबाट आगामी मंगलबारदेखि व्यापारिक उत्पादन सुरु हुने भएको छ। परीक्षण उत्पादन सफल भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुन लागेको हो।
परीक्षण उत्पादन अन्तिम चरणमा पुगेको आयोजनाबाट ३ दिनभित्र व्यापारिक उत्पादन सुरु हुने न्यादी हाइड्रो पावर कम्पनीले जनाएको छ। आयोजनाको परीक्षण उत्पादन सकिन लागेको छ, परीक्षण उत्पादन सम्पन्न भएपछि व्यापारीक उत्पादन सुरु गरिने कम्पनीले बताएको छ।
आयोजनाको काम २ महिनाअघि नै सम्पन्न भएको थियो । चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी विद्युतगृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन करिब २ महिना ढिलो हुन गएको छ ।
आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्य मर्स्याङ्दी १३२ केभी प्रसारण लाइनमा जोडिएको छ। ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ।
आयोजनाको सिभिलतर्फको निर्माणको जिम्मा चीनको झेजियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले अध्ययन, खरिद र निर्माण (इपिसी) मोडलमा पूरा गरेको छ। कम्पनीसँग २०७३ साल माघ ३ गते ठेक्का सम्झौता गरिएको थियो।