काठमाडौं। रामेछापको गोकुलगंगा गाउँपालिकामा निर्माण सम्पन्न १२ मेगावाटको माथिल्लो र ७ मेगावाटको उपल्लो खिम्ती जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। हिमालयन ऊर्जा विकास कम्पनीले २०७७ फागुनमा सम्पन्न गरेको आयोजनाको विद्युत करिब १४ महिनापछि प्रणालीमा जोडिएको हो।
लामो समयदेखि खेर गइरहेको १९ मेगावाटका २ आयोजनाको विद्युत शनिबार देखि नेपाल विद्युत प्राधिकरणको गर्जाङ सबस्टेसनमा जोडिएको कम्पनीले जनाएको छ।
प्राधिकरणले १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन समयमा सम्पन्न नगर्दा खेर गइरहेको १२ मेगावाटको माथिल्लो र ७ मेगावाटको उपल्लो खिम्तीको विद्युत वैकल्पिक रुपमा जोडिएको छ। करिब ६४ करोड रुपैयाँ बढीको विद्युत खेर गएपछि माथिल्लो र उपल्लो खिम्तीको विद्युत उत्पादन परीक्षण सुरु भएको हो।
आयोजनाबाट २ सातासम्म परिक्षण उत्पादन गरेर प्राधिकरणलाई दिइनेछ। परीक्षण उत्पादन सम्पन्न भएपछि व्यापारीक उत्पादन गरिने कम्पनीले जनाएको छ।
कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँ लागतमा दुवै आयोजना निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको थियो। प्राधिकरणले गर्दा उत्पादीत विद्युत प्रणालीमा जोडिन नपाउँदा बैंकको ब्याज र खर्च ४८ करोड रुपैयाँ बढेको कम्पनीले जनाएको छ।