काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ। मन्त्री भुसालको कार्यकक्ष सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो।
भेटमा राजदूत किकुताले अप्रिल २३–२४ मा जापानमा भएको चौथो एशिया–प्यासिफिक जल सम्मेलनमा सहभागिताको लागि भुसाललाई धन्यवाद दिए।
भेटमा राजदूत किकुताले नेपाल र जापान बीचको सम्बन्धको महत्वलाई प्रकाश पार्दै द्विपक्षीय सहयोगको लामो इतिहास विशेषगरी कुलेखानी जलविद्युत् आयोजना लगायतका ऊर्जा क्षेत्रमा सन् १९७० को दशकमा भएको उल्लेख गरे । राजदूतले जापान सरकारले हालै ‘नेपालका लागि देश विकास सहयोग नीति’ परिमार्जन गरेको र ‘सन्तुलित र दिगो आर्थिक वृद्धिका लागि सहयोग’ नीतिको प्रमुख लक्ष्यका आधारमा नेपालको राष्ट्रिय उपलब्धिमा जापानले सहयोग जारी राख्ने बताए।
राजदूत किकुताले नीतिअनुरुप ऊर्जा र जल क्षेत्र, मानव संसाधन विकास, विपद् रोकथाम, गरिबी न्यूनीकरण लगायतका सामाजिक तथा आर्थिक पूर्वाधारको विकासमा जापानले सहयोग जारी राख्ने बताए। राजदूत किकुता र मन्त्री भुसालले नेपालको सामाजिक आर्थिक विकास र दुई देशबीचको सम्बन्ध अभिवृद्धिमा थप सहकार्य जारी राख्ने धारणा राखे।