म्याग्दी। ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० प्रतिशत स्वपूँजी (इक्विटी) लगानी गर्ने भएको छ।
स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणाअनुसार एचआइडिसिएलले उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको हो ।
लगानी सम्बन्धी सम्झौतामा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र हाइड्रो भिलेजका अध्यक्ष क्या रामेश्वर थापाले हस्ताक्षर गरेका छन् ।
एचआइडिसिएलको ११ वर्षको लगानी यात्रामा स्वपूँजी लगानी गरेको यो चौथो आयोजना रहेको प्रमुख कार्यकारी अधिकृत गौतमले बताए ।उनले भने, ‘निजी क्षेत्रका यस्तै अन्य आकर्षक आयोजनामा पनि हामी लगानी गर्दै जानेछौं। कम्पनीले तोकिएको समयभित्र आयोजनाको निर्माण पूरा गर्नेमा हामी विश्वस्त छौं ।’
अब आयोजनामा हाइड्रो भिलेज, एचआइडिसिएल र मलेसियन कम्पनीको स्वामित्व रहनेछ । मलेसियन कम्पनीसँग यसअघि नै पुँजी लगानीका विषयमा सम्झौता भइसकेको छ । एचआइडिसिएलले सुझाए जस्तै तोकिएको समयमै निर्माण पूरा गरी बिजुली उत्पादन गर्न कम्पनीले तत्परताका साथ काम गर्ने कम्पनीका अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरे । साथै, अहिले आयोजनास्थलसम्म पहुँच सडक निर्माणको कार्य भइरहेको कम्पनीको प्रबन्ध निर्देशक सुशील पोखरेलले बताए ।
धवलागिरि हिमालको आधार शिविर नजिकै निर्माण हुने हुँदा यो आयोजनाले पर्यटकीय महत्त्व पनि बोकेको बताउँदै पोखरेलले भने, ‘हामीले आयोजनास्थलसम्म पुग्ने सडक निर्माण गरिरहेका छौं । साथै, यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार रोजगारीका सम्भावनालाई पनि उच्च प्राथमिकता दिइनेछ, जसबाट स्थानीयबासीको जीवनस्तर माथि उठ्न सकोस् ।’