रसुवा। रसुवागढी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। रसुवाको गोसाइँकुण्ड–२ टिमुरेमा रहेको १११ मेगावाटको जलविद्युत आयोजनाको काम हालसम्म ९० प्रतिशत पूरा भएको हो।
यो आयोजनाले मंसिरभित्र उत्पादन गर्ने लक्ष्य राखेको छ। अहिले इलेक्ट्रोमेकानिकलतर्फ उपकरण जडान भइरहेको छ। उपकरण जडानको काममा ढिलाइ भएका कारण उत्पादन समयपछि धकेलिएको आयोजनाले जनाएको छ।
इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाले २०७८ कात्तिकदेखि काम सुरु गरेको थियो। अहिले सिभिलतर्फ दुई सय र इलेक्ट्रोमेकानिकलमा ६० जना भन्दा बढी जनशक्ति खटिएर समयमै काम सक्ने प्रयास भइरहेको छ।
२०७० माघदेखि आयोजना निर्माण सुरु भएको हो। सुरुमा २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। भूकम्प र नाकाबन्दीका कारण ढिला भएको हो। भूकम्पपछि आयोजना क्षेत्रको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए।
आयोजनाबाट वार्षिक ६ सय १३.८७ गेगावाट विद्युत् उत्पादन हुनेछ।