काठमाडौं। निर्माणाधीन सुपरमादीको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न साढे १९ किलोमिटर प्रसारणलाइन निर्माण गरिने भएको छ। सुपरमादी हाइड्रोपावर लिमिटेडले कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन आयोजनाको स्विचयार्डदेखि विद्युत प्राधिकरणको लेखनाथ सबस्टेशनसम्म ४४ मेगावाट क्षमताको १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो।
विद्युत विकास विभागले सूचना प्रकाशित गर्दै प्रस्तावित प्रसारणलाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकूल असर पर्ने भए सम्बद्ध क्षेत्रका बासिन्दाबाट ३५ दिनभित्र लिखित रायप्रतिक्रिया मागेको छ। यो प्रसारण लाइनको भोल्टेज १ लाख ३२ हजार भोल्ट हुनेछ। जसले ४४ मेगावाटसम्मको विद्युत शक्ति प्रसारण गर्न सक्छ।
उक्त प्रसारणलाइन निर्माणाधीन सुपर मादी आयोजनाको स्विचयार्डदेखि सुरु भई माथिल्लो मादी जलविद्युत आयोजनाको स्विचयार्डसम्म करिब ७ किमि, १३२ केभी सिंगल सर्किट र त्यहाँबाट माथिल्लो मादी जलविद्युत आयोजनाको निर्माण गरेको डबल सर्किट टावरमा खाली रहेको एउटा सर्किट निर्माण गरी उक्त सर्किट प्राधिकरणको लेखनाथ सबस्टेसनसम्म करिब साढे बाह्र किमि गरि साढे उन्नाइस किमि लम्बाइ रहने गरी निर्माण गरिनेछ।
आयोजना निर्माणका लागि १३.८२ हेक्टर जमिन आवश्यकता पर्छ। जसमध्ये ०.६१६ हेक्टर जग्गा टावर फाउन्डेसन, १२.६०४ हेक्टर जग्गा अधिकार क्षेत्रका लागि र ०.६ हेक्टर जग्गा अस्थायी सहायक सुविधाका लागि प्रयोग गरिनेछ।