काठमाडौं। लमजुङको दोर्दी कोरिडोरमा निर्माणाधीन माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। २५ मेगावाट आयोजनाको गत असारमा बाढीले भत्काएको संरचना निर्माण गरी परीक्षण उत्पादन सुरु गरिएको हो।
आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको बेला गत असारमा आएको बाढीले क्षति पुर्याएपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो। आयोजनामा बाढीले क्षति पुर्याएको डिसेन्डरमा मर्मत कार्य जारी रहेको छ तर वैकल्पिक नहरको प्रबन्ध गरेर टनेल पाइपमा पानी हालेर परीक्षण थालिएको हो। जेठ लगेसँगै विद्युत गृहको संरचनाको परीक्षण कार्य थालिने भएको छ।
हाल दोर्दी कोरिडोरमा निर्माणाधीन १३२ केभी राष्ट्रिय प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेकोले व्यावसायिक विद्युत उत्पादनका लागि भने केही समय लाग्ने बताइएको छ। राष्ट्रिय प्रसारण लाइन निर्माणको काम पूरा भएसँगै यो आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन हुने योजना छ। त्यसैले पनि आयोजनाको वैशाख महिनाभरि आयोजना संरचनाअन्तर्गत टनेल परीक्षण गरिने भएको आयोजनाले जनाएको छ। यस अघि नै संरचना निर्माणको काम सम्पन्न गरिसकेको सो आयोजनाले गत जेठ महिनाभित्र व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्यका साथ उत्पादन परीक्षण तयारी गरेको थियो। तर परीक्षण सुरु हुनुअघि नै बाढी आउने र त्यसले संरचनामा क्षति पुर्याएपछि पुन विद्यूत उत्पादनको समय थप एक वर्ष लम्बिन गएको थियो।
यसअघि आयोजना सम्पन्न गर्न चार अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्दा लागत बढेको आयोजनाले जनाएको छ । आयोजनामा बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइप छ । रन अफ द रिभरमा आधारित उक्त आयोजनाले ०७१ वैशाख १५ मा विद्युत् उत्पादन अनुमति पाएको थियो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ । नदीको वहाबमा आधारित (रन अफ द रिभर) प्रकृतिको आयोजनाको प्रतिफल १५.४५ प्रतिशत छ । दोर्दी गाउँपालिका–६, ढोडेनी र ७ फलेनीमा निर्माण गरिएका आयोजनाले तल्लो सिमीस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट मालेबगरमा निर्माण गरिएको विद्युत्गृहमा लगेर पानी खसाल्नेछ ।