फाइल तस्बिर
काठमाडौं। दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि निर्माण हुन लागेको प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति प्राप्त भएको हो।
नेपाल विद्युत् प्राधिकरणले नेपाल र भारतबीच विद्युत् व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ ।
भारत सरकारले प्रसारण लाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति दिएको छ । न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्न विद्युत् प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया को ५०–५० प्रतिशत शेयर स्वामित्व (इक्विटी) रहने गरी संयुक्त कम्पनी स्थापना हुने छ । नेपालतर्फको प्रसारण लाइन भने प्राधिकरण आफैँले गर्ने छ ।
नवलपरासीको सुनवल नगरपालिका–१३ स्थिति न्यू बुटवल सवस्टेसनबाट सुरु भई भारतको गोरखपुर सवस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्दछ ।
कम्पनीको ५० प्रतिशत इक्विटीको हुन आउने ४६ करोड भारतीय रुपैयाँ (रु ७३ करोड ६० लाख) रकम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो । कम्पनीमा पावर ग्रिडको पनि प्राधिकरणको बराबर नै लगानी रहने छ ।