काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताएकी छन् ।
सामुदायिक विकास कोष समितिको सचिवालय ललितपुर महानगरपालिका–२२ एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले आफ्ना संस्कृति, पर्व एवं विकास निर्माण कार्यलाई उपभोक्तास्तरबाट पनि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले आफू निरन्तर देश विकास र जनताको सेवामा लाग्ने बताउँदै आफ्ने तहबाट बजेट तथा योजनाका लागि पहल गर्ने बताइन्। उपभोक्ताले हरेक गतिविधिको नियमन गर्नुपर्नेमा उनको जोड थियो । आफूले पहल गरेर ल्याएको योजना कार्यान्वयनमा ढिलाइ भएकाले जनस्तरबाटै खबरदारी हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले भनिन्, “बुङ्मतीको मुख्य बाटोमा २५ करोडसम्म बजेट विनियोजन भयो तर पूरा भएको छैन ।”
मन्त्री भुसालले विसं २०७२ मा भत्किएको रातो मच्छिन्द्रनाथको काम ढिलो भएको र उपभोक्ताकै कारण निर्माण कार्य अगाडि बढेको उल्लेख गर्दै स्थानीय उपभोक्ता नै आफ्नो क्षेत्रको संस्कृति संरक्षण र विकास निर्माणमा जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन् । जनताका आवश्यकता पूरा गर्न आफू निरन्तर लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।