काठमाडौं। मंगलबारबाट संसदमा बजेट छलफल सुरु हुने भएको छ। आज अपरान्ह ४ बजे बस्ने संसद बैठकले आमामी वर्ष २०७९/८० को बजेट छलफल सुरु गर्ने भएको हो।
आज ४ बजे बस्ने संसदमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक र सिद्धान्तमाथि छलफल गर्न प्रस्ताव गर्नेछन्। यसपछि संसदमा बजेट छलफल सुरु हुनेछ।
संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्न १२ दिन मात्रै बाँकी छ। स्थानीय तह निर्वाचनका कारण संसदमा बजेट छलफल धेरै हुन भने नपाउने देखिन्छ। वैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिमाण आइसकेको छैन। निर्वाचनकै कारण ढिलो गरी बजेट अधिवेशन आह्वान भएको थियो।
अर्थ मन्त्रालयले वैशाख २० गते नै विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकताहरु संसदको दुवै सदनमा प्रस्तुत गर्ने योजना बनाएको थियो। तर संसद अधिवेशन आह्वान नहुँदा अहिलेसम्म सदनमा प्रस्तुत हुन सकेको छैन।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएका कारण बजेट प्रक्रिया छिटो अघि बढ्ने देखिन्छ।