काठमाडौं। आगामी बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण समयभित्र सम्पन्न गर्ने गरी योजना बनाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता सार्वजनिक गर्दै आगामी बजेटमा गौरवका आयोजनाहरुको निर्माण सम्पन्न गर्ने गरी योजना बनाएको बताएका हुन्।
उनले तीव्र आर्थिक वृद्धि र समावेशी एवम् सन्तुलित आर्थिक विकासको आधारको रूपमा भौतिक पूर्वाधारको विकास हुनेगरी बजेट निर्माण भइरहेको बताएका छन् ।
प्रमुख राजमार्गहरूको विस्तार र स्तरोन्नति तोकिएको समयभित्र सम्पन्न गर्ने, सडक पूर्वाधारको सुधार गरी यात्राको समय घटाउने भएको छ।
नयाँ प्रविधिमा आधारित टनेल तथा द्रुतमार्ग निर्माण कार्य अघि बढाउने गरी नयाँ बजेटमा सम्बोधन हुने भएको छ।
आन्तरिक विमानस्थल टर्मिनलहरूको स्तरोन्नति गर्ने, स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कम्तिमा एउटा सडक बाह्रै महिना यातायात चल्ने गरी निर्माण गर्ने योजना छ।
विद्यमान भौतिक पूर्वाधारहरूको नियमित मर्मत सम्भार गर्ने। पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निजी क्षेत्रलाई समेत सहभागी गराउने अर्थमन्त्री शर्माले बताए ।