ताप्लेजुङ। घुन्सा खोलामा पहिचान भएको ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढेको छ। रेमिट हाइड्रो लिमिटेड निर्माण गर्ने घुन्सा खोला जलविद्युत आयोजनाको प्रक्रिया अघि बढेको हो।
विद्युत विकास विभागले एक सूचना निकालेर प्रस्तावित घुन्सा खोला जलविद्युत आयोजना निर्माण तथा संचालन गर्दा प्रतिकुल असर पर्ने भएमा ३५ दिनभित्र लिखित रायरसुझाव पेश गर्न अनुरोध गरेको छ।
यो आयोजना रन अफ दि रिभर (आरओआर) प्रकृति हो। यसको डिजाईन वहाव २१.२८ घनमिटर प्रतिसेकेण्ड रहेको छ। कुल हेड ग्रस हेड ४३२ मिटर रहेको छ। आयोजनाबाट वार्षिक सरदर ४५९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ।
यो आयोजनाको सम्पूर्ण मुख्य संरचना घुन्सा खोलाको दायाँ किनारमा रहनेछन्। हेडवर्क्स फक्ताङलुङ गाउँपालिकामा रहेको लामाटारमा प्रस्ताव गरिएको छ।
आयोजनाका लागि आवश्यक पर्ने पानी लिनका लागि घुन्सा खोलामा ३२ मिटर लम्बाई र ६.७५ मिटर उचाइको बाँध निर्माण गरिनेछ। घुन्सा विद्युत गृहमा विद्युत उत्पादन भएपछि दायाँ किनारमा निर्माण गरिने २८.४ मिटर टेलरेस आउटलेट मार्फत पुनस् घुन्सा–तमोर दोभान नजिकै पानी छाडिनेछ।
विद्युत गृहमा जडित ३ वटा २५ हजार ८३० किलोवाट क्षमताको भर्टिकल एक्सिस भएका पेल्टन टर्वाइनहरुमा पानी खसाली सो टर्वाइनसँग जोडिएको ३ वटा थ्री फेज २५.८३ मेगावाट रेटेड क्षमताको जेनेरेटरमार्फत ७७ हजार ५०० किलोवाट विद्युत उत्पादन गरिनेछ।
.JPG)