काठमाडौं। काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्वका लागि अहिले एक सातादेखि मत गणना जारी छ।
अहिलेसम्म मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोलको अग्रता यथावत छ। अझै ६० प्रतिशत मत गन्न बाँकी रहे पनि अबको पाँच वर्ष शाह र डंगोलकै नेतृत्वमा काठमाडौं महानगरपालिका चल्न सक्ने आँकलन गर्न थालिएको छ।
सबैको ध्यान अबको नेतृत्व को आउँला भन्नेमै केन्द्रीत छ । यहीबीच विहीवारबाट पूराना जनप्रतिनिधिहरु विदा भइसकेका छन् । यता काठमाडौंका सडक चोकहरुमा झण्डै हप्ता दिनदेखि थुप्रिएको फोहोरको थुप्रो झनै थपिरहेको छ।
भित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ।
कहिले सिलडोलबासीको आन्दोलन त कहिले के कारणले गर्दा विभिन्न समयमा काठमाडौंमा हप्तौसम्म फोहोर नउठ्ने गरेको छ । तर यसपटक आन्दोलनले नभई चुनाव केन्द्रीत राजनीतिले गर्दा फोहोर नउठेको बताइएको छ ।