काठमाडौं। सार्वजनिक निजी साझेदारीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको समय ६ महिना थप भएको छ। हालसम्म ८७ प्रतिशत काम सकिएको आयोजनाको निर्माण अवधि ६ महिना थप गरिएको हो।
आयोजनाबाट आउँदो पुससम्म बिजुली उत्पादन हुने विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ ।
समय थप भएकाले आउँदो असार ११ गतेदेखि बिजुली उत्पादन गर्ने लिएको लक्ष्य प्रभावित भएको छ । यसअघि आउँदो असारभित्र आयोजनाबाट बिजुली उत्पादन गर्ने कार्ययोजना सार्वजनिक गरिएको थियो ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम नसकिएपछि ६ महिना समय थप गरी संशोधित तालिका सार्वजनिक गरेको रसुवागढीले जनाएको छ । आयोजनाको काम १३ प्रतिशत बाँकी छ।
आयोजनाको समय थप भएपछि लागत बढेर ब्याज बाहेक १७ अर्ब १ करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ। यसअघि निर्माण अवधिको ब्याज बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधारमानी आयोजना निर्माण सुरु भएको थियो । आयोजनाको लागत ३ अर्ब ३३ करोड रुपैयाँ बढेको छ ।
विनासकारी भूकम्प, नाकावन्दी, कोरोना महामारी, भोटेकोसी नदीमा आएको ठूलो बाढीले क्षति पुर्याउनुका साथै केही प्राविधिक समस्याले आयोजनाको समय थप भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।