काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पद्धार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताएका छन्।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय’ विषय अन्तरक्रियामा बोल्दै मन्त्री बडूले पेट्रोलियम पद्धार्थको आपूर्तिका लागि निजी क्षेत्रलाई अनुमति दिनुपर्ने बताएका हुन्।
निजी क्षेत्रलाई पेट्रोलियम पद्धार्थको आपूर्ति गर्न दिएमा नेपाल आयल निगमसँग पनि मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले कम मूल्यमा पाउन सक्ने उनले बताए। पेट्रोलियम पद्धार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले दिर्घकालीन योजना बनाउन लागेको उनले उल्लेख गरे।
मन्त्री बडूले निस्क्रिय अवस्थामा रहेका उद्योगहरुलाई पनि निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने गृहकार्य गरिएको बताए । उद्योग सञ्चालन गर्दा उत्पादन र रोजगारी बढ्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले भाडामा सञ्चालन गर्न चाहेमा दिने गरी मोडालिटी तयार गर्न लागेको बताए ।
उनले आयात घटाउनु र राष्ट्रिय उत्पादन बढाउनु अहिलेको आवश्यकता भएको बताए। आत्मनिर्भरताका लागि मेहनत गर्नुपर्ने मन्त्री बडूले बताए।