म्याग्दी। म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणको काम पुन सुचारु गरिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण चार महिनादेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित उक्त आयोजनाको बाँध निर्माण शुरु गरिएको हो ।
पहिरोका कारण मजदुर, यातायात र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण गत असार महिनादेखि रोकिएको थियो ।
पहिरो पन्छाएर पहुँचमार्ग मर्मत गरेपछि बाँध क्षेत्रमा निर्माण सञ्चालन भएको आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । अँधेरीखोलाको अडिट–२ पुग्ने पहुँचमार्ग मर्मत गरेर गत भदौदेखि दुईतर्फी सुरुङ निर्माण सुरु गराइएको थियो ।
बुग्लको पहिराले तुदी हाइड्रोपावरद्वारा सञ्चालित ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण पनि रोकिएको थियो । राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बर्खायाममा प्रतिकूल मौसम र पहिराका कारण प्रभावित भएको निर्माणकार्य लयमा फर्किएको बताए ।