काठमाडौं। पेट्रोलियमको मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलन गर्ने भएका छन्।
सोमबार बैठक बसेर सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्ने घोषणा गरेका हुन्।
विद्यार्थी संगठनहरूले जनताको प्रत्यक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजनाका निम्ति कर थोपरेका कारण जनताले वास्तविक मूल्य भन्दा बढी खेप्नुपरिरहेको बताएका छन्।
नेपाल आयल निगम भित्र चुहावट, भ्रष्टाचार र कमिसन बढ्दै गइरहेको बताउँदै विद्यार्थी संगठनहरूले त्यसलाई न्यूनीकरण गर्न र मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका हुन्। उनीहरूले खाद्यान्नमा भइरहेको मूल्य वृद्धिबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
विद्यार्थी संगठनहरुले पहिलो चरणको आन्दोलनमा आज अर्थमन्त्रालय र उद्योग तथा वाणिज्य मन्त्रालयमा गएर मन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएका छन्।