काठमाडौं। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विरोध जनाएका छन्।
सरकारमा रहेका र अन्य दलनिकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै बुधबार नेपाल आयल निगम घेराउन गरेका हुन्।
विद्यार्थीहरुले आयल निगम घेराउ गरी निगमविरुद्ध नाराबाजी समेत गरेका छन्। उनीहरुले प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्।
प्रदर्शनकारीले ‘जनप्रतिनिधि फेरिए जनजीविका फेरिएन’, ‘सबै मूल्यवृद्धिको जड, पेट्रोलियम पदार्थको कर, छिटो फिर्ता गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
यसअघि १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
नेपाल आयल निगमले आइबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले बढाएको छ।