काठमाडौं। तल्लो तथा माथिल्लो स्तरको थ्री फेज विद्युत लिन अनिवार्य रुपमा अनलाइन आवेदन दिनुपर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले बिहीबार एक सूचना निकालेर थ्री फेज विद्युत सप्लाइ लिन इच्छुक ग्राहकले अनिवार्य अनलाइ आवेदन दिनुपर्ने बताएका हुन्।
ग्राहकलाई सहज रुपमा सेवा उपलब्ध गराउन अनलाई प्रणाली सुरु गरेको प्राधिकरणले जनाएको छ। केही समय पहिलेदेखि नै परीक्षणका रुपमा सुरु गरिएको अनलाइन प्रणाली सफल भएपछि यसलाई देशव्यापी गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ।
थ्री फेज लाइन लिनका लागि सेवाग्राहीहरुले सास्ती खेप्नु परेको गुनासो बढेपछि अनलाइनबाटै आवेदन दिन मिल्ने बनाएको निर्देशनालयले जनाएको छ।
थ्री फेजको लाइनको सप्लाइ लिन चाहने सेवाग्राहीले नेपाल विद्युत प्राधिकरणको वेबसाइटको दायाँ साइटको माथिल्लो भागमा रहेको ‘थ्री फेज अनलाइन आवेदन’ मा क्लिक गरि आवश्यक विवरणहरु पेश गर्नुपर्छ।
अनलाइन आवेदन दिने ग्राहकहरुले आवेदन कारबाही कुन अवस्थामा रहेको छ, पेस भएका कागजातहरु पर्याप्त छन् छैनन् लगायत आवेदन स्वीकृति आदिको जानकारी समेत अनलाइनबाटै लिन सकिन्छ।
अनलाइन आवेदन दिएपछि सेवाग्राहीलाई दर्ता नम्बरसहितको एसएमएस आउँछ। दर्ता नम्बरका आधारमा ‘अलरेडी रजिष्टर्ड’ अप्सनमा गएर आफ्नो फाइल ट्रयाक गर्न सकिने प्राधिकरणले जनाएको छ।