काठमाडौं। सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३ सय शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ। उक्त अस्पताल यसै बर्षदेखि सञ्चालनमा आउने भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए। गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार यसै आर्थिक बर्षदेखि अस्पताल सुरु हुन लागेको हो।
कांग्रेस नेतृ एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा.रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा.प्रमोद जोशी सदस्यसचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलगत भ्रमण गरी अस्पताल संचालनको कार्ययोजना तयार गरेको थियो।
उक्त कार्ययोजनाकै आधारमा तत्काल तीन सय शैय्याको अस्पताल संचालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो। मेडिकल कलेज संचालनका लागि कम्तिमा तीन सय शैय्याको अस्पताल तीन वर्षसम्म संचालन भएको हुनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल संचालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो। भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल संचालन गर्न नेतृ राणा विगत एक बर्षदेखि पहल गर्दै आएकी थिइन्। राणाकै पहलमा यसै आर्थिक बर्षको बजेटमा अस्पताल संचालनका लागि माग भएअनुसारको २ अर्ब रुपैयाँ बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ।
प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज संचालन गर्ने सरकारको नीति अनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो।