म्याग्दी । जिल्लामा ११ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजनाको निर्माण कार्य जारी रहेको हो ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हाइड्रो इम्पाएर प्रालीले धवलागिरि गाउँपालिकामा २० मेगावाट क्षमताको अप्पर म्याग्दी जलविद्युत आयोजना निर्माणका लागि पहुँचमार्ग खन्न थालेको छ ।
म्याग्दी हाइड्रोपावर लिमिटेडले अन्नपूर्ण गाउँपालिका निर्माण गरिहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको हालै सुरुङ निर्माण सकिएको छ । निलगिरि हाइड्रोपावर लिमिटेडले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ३८ मेगावाट क्षमताको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि खोला दोस्रो ९क्यासकेड० जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
तुदी पावर कम्पनी प्रालिले रघुगङ्गा गाउँपालिकामा ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अप्पर राहुघाट जलविद्युत आयोजना निर्माणको काम एकै साथ गरिरहेको छ । ह्युम कन्सल्टले अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माणका लागि पहुँचमार्ग निर्माण सकेको छ । संयुक्त उर्जा प्रालिले रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गलेमा २१.३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजनाको निर्माण शुरु गरेको छ ।
धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको तीन वर्षअघि शिलान्यास गरेपनि गति लिन सकेको छैन् । रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले अन्नपूर्ण गाउँपालिका ३ दानामा ४ मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत आयोजना निर्माणको अनुमति पाएपनि रुप्से झरनाको सौन्दर्यमा असर पर्ने भन्दै स्थानीयबाट विरोध भएपछि काम सुरु गरेको छैन् ।