काठमाडौं। विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान गरेको छ। वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले निवेदन आह्वान गरेको हो।
काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो।
सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथै लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस ऊर्जा प्रवर्धन केन्द्रमा पेस गर्नुपर्नेछ।
असार ९ गतेसम्म निवेदन दिन सकिनेछ। यसअघि २०७८ फागुन ९ गतेको सूचना अनुसार माग पेस गरेका विद्यार्थीले भने पुनः निवेदन दिन नपाउने केन्द्रले जनाएको छ।
खाना पकाउने ग्यासमा भएका मूल्य वृद्धिका कारण विशेष गरी विद्यार्थी समस्यामा परेका छन्। भाडामा बसेका लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि गरिएको उक्त प्रयासले विद्यार्थीलाई सहज हुने विश्वास गरिएको छ। जसबाट खाना पकाउने ग्यासको बचत हुने भएकाले पनि विद्यार्थीलाई सहज हुने विश्वास गरिएको हो।