काठमाडौं। थप ५ वटा सुरुङमार्गको काम अगाडि बढेको छ।
गुणस्तर अनुसन्धान तथा विकास महाशाखाले ५ वटा सुरुङमार्गको काम अगाडि बढाएको हो।
महाशाखाले ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता लागि आह्वान गरेको ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रिया सकिएको जनाएको छ। महाशाखाका अनुसार प्राविधिक रूपमा छनोट भएका परामर्शदाताले अब आर्थिक प्रस्ताव पेस गर्न सक्नेछन्। त्यसपछि मात्र आर्थिक प्रस्तावको मूल्यांकन सम्पन्न हुने पनि महाशाखाले जनाएको छ।
सरकारले सडक यात्रालाई सहज र छिटो बनाउने उद्देश्यले सुरुङमार्ग निर्माणका योजना अघि बढाएको हो। सुरुङमार्ग योजना पछिल्लो समय सरकारको प्राथमिकताको सूचीमा छ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत सात वटा सुरुङमार्ग योजना थपेका थिए। उनीअघिका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा स्रोत सुनिश्चितता बिना धेरै आयोजना राखेको भन्दै शर्माले कटौती गरेका थिए। तर कटौती गरिएको भनिरहँदा ती सातवटा सुरुङमार्ग निर्माणको आयोजना भने उनले थपेका थिए।