मनाङ । मस्र्याङ्दी नदीमा आएको बाढीले भत्काएको बेलिब्रिज, झोलुंगे पुल र अन्य धेरै काठेपुल तीन महिना बितिसक्दा पनि अझै मर्मत भएका छैनन् । गत जेठ र असारमा आएको बाढीले भत्काएका पुलहरु मर्मत नभएका हुन् ।
पुल मर्मत नहुँदा जिल्लाबासीले सास्ती खेप्नु परेको छ । एक वर्षअघि निर्माण भएको बेँसीसहर–चामे सडकखण्डअन्तर्गत पर्ने चामे गाउँपालिका–१ तिमाङखोलाको बेलिब्रिज जेठ १३ गते नै बाढीले बगाएको थियो । गत असार १ गतेको बाढीले जिल्लाका १० बटा झोलुङे पुल र ४ वटा काठेपुल बगाएको थियो । बाढीले बगाएको तीन महिना बितिसक्दा पनि निर्माण तथा मर्मत कार्य नहुँदा अस्थायी रुपमा काठेपुल बनाएर स्थानीयले गुजारा चलाउँदै आएका छन् । तर काठेपुलबाट यात्रु र सवारी साधन आवतजावत गर्न समस्या हुने हुँदा जोखिम अझ बढेको छ ।
निर्माण भएको धेरै समय नहुँदै बाढीले बगाएका पुल समयमा मर्मत नहुँदा स्थानीय, उक्त पुल हुँदै आवतजावत गर्ने यात्रु, सवारी साधनवाला सबैलाई समस्या परेको छ । सरोकारवालाले समयमा ध्यान नदिँदा आफूहरुले जोखिम मोलेरै अस्थायी रुपमा बनाइएको काठेपुलबाट सवारी साधन आवतजावत गराउनु पर्ने बाध्यता रहेको एक सवारी चालकले बताए । आफूहरुको समस्या कसैले नदेख्दा दैनिक रुपमा हिँड्नु पर्ने पुल नबनको र कहिले खोला तरेर त कहिले काठे पुलको भरमा आवतजावत गर्नुपर्ने एक स्थानीयको गुनासो छ ।