काठमाडौं। आन्तरिक राजस्व कार्यालय, चाबहिलले कर रकम नतिर्ने ५५ वटा कम्पनीको नाम सार्वजनिक गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गरी निर्माण कम्पनीसहित कर रकम दाखिला गर्न बाँकी ५५ वटा कम्पनीको नाम सार्वजनिक गरेको हो।
कार्यालयले नाम सार्वजनिक गरेका कम्पनीले कर नतिरेको, कर तिर्नका लागि अनुरोध गरेकोमा हालसम्म सम्पर्कमै नहरेको र टेलिफोन तथा हुलाकमार्फत समेत सम्पर्क गर्न खोज्दा पनि कतिपय कम्पनीसँग सम्पर्क हुन नसकेपछि सूचना प्रकाशित गरेको उल्लेख गरेको छ।
आन्तरिक राजस्व कार्यालय चाबहिलले प्रकाशन गरेको सूचनामा लोटिन कन्स्ट्रक्सन प्रा.लि, निश्चल निशानी निर्माण सेवा प्रा.लि, वौडेश्वर निर्माण सेवा प्रा.लि, पेन्सी निर्माण सेवा प्रा.लि, अनु कन्स्ट्रक्सन प्रा.लि, मनुस्टार कन्स्ट्रक्सन प्रा.लि समेत रहेका छन्। त्यसैगरी शैलुङ पर्वत स्टार कन्स्ट्रक्सन प्रा.लि, कृश्मा कन्स्ट्रक्सन प्रा.लि, माँ सुन्दरी माई कन्स्ट्रक्सन, बाम्ती भण्डारी निर्माण सेवा प्रा.लि लगायतका निर्माण कम्पनीहरुको समेत नाम सार्वजनिक गरिएको छ।
कार्यालयले यी कम्पनीलाइ सूचना प्रकाशन भएको १५ दिनभित्र भित्र सम्पर्कमा आएर कर रकम दाखिला गर्न वा दाखिला गरेको प्रमाण पेस गर्न अनुरोध समेत गरेको छ। सूचना प्रकाशित भएको १५ दिनसम्म पनि कर दाखिला नभए कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने आन्तरिक राजस्व कार्यालयले चेतावनी समेत दिएको छ।
